काठमाडौं। निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको र मतपत्र र अन्य सामग्री व्यवस्थापन गरी अधिकृतमार्फत सबै जिल्ला पठाइएको प्रमुख आयुक्त दिनेश थपलियाले बताउनु भयो। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सबै कर्मचारीहरू २७ गतेसम्म मतदान केन्द्रमा पुग्ने छन्।
२८ र २९ गते सर्वदलीय बैठक गर्ने मतदान केन्द्रको निर्माण गर्ने, नयाँ मतदाता परिचयपत्र वितरण गर्नेछ। वितरण गर्दा आएका नयाँ मतदातालाई मतदान अधिकृतको टोलीले आवश्यक मतदान गर्ने तरिका सिकाउनेछन्। बिहान ७–५ बजेसम्म मतदान हुनेछ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबै वडाका १/१ जना वडाअध्यक्ष, सबै वडाका ४/४ जना वडा सदस्य नगर महानगरको हकमा प्रमुख उपप्रमुख वडाध्यक्ष र वडा सदस्य गरी ७५३ वटा स्थानीय तहबाट ३५ हजार २ सय २१ उम्मेदवार निर्वाचित हुनेछन्।
आयोगले निर्धारण गरेअनुसार १ करोड ९४ लाख मतपत्र छापे पनि यसपटक स्वतन्त्र उम्मेदवार धेरै उठेकाले पूर्वअनुमानले नपुग्ने अवस्था आएको सहायक प्रवक्ता अर्यालले बताउनु भयो। ‘४३ वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको ठूलो संख्या भएकोले मतपत्र कम भएको छ। यसका लागि ती स्थानीय तहमा निर्वाचन चिह्न दिएर सकेपछि प्राप्त निर्वाचन चिह्नको विवरणअनुसार १३ लाख ४ हजार थप मतपत्र छाप्नुपरेको छ,’ वहाँले भन्नुभयो।
यसैगरी आयोगले सुरक्षा निर्देशिका पारित गरेको छ। जसमा सारभूत र आधारभूत सुरक्षा व्यवस्थापनका विधिहरू समेटिएका छन्। अर्याल भन्नुहुन्छ, ‘भयमुक्त वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको हो। नेपाल प्रहरी, नेपाली सेना शसस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरी आवश्यक मजबुत सुरक्षा व्यवस्था मिलाउनेमा आयोग ढुक्क छ।’
३५ हजार २२१ पदका लागि मतदान
मतपत्र: १ करोड ९४ लाख
मतदान केन्द्र: २१ हजार ९५५
मतदान स्थल: १० हजार ७५६
२०७४ मा मतदाता: १ करोड ४० लाख
२०७९ मा मतदात: १ करोड ७७ लाख ३३ हजार ७२३
पूर्वाधार व्यवस्था: सबै मतदान केन्द्रमा
कर्मचारी संयन्त्र परिचालन: करिब २ लाख