बलराम तिमल्सिना
एक पटक देखेको थिएँ
गौतम वुध्द बन्ने सपना
धेरै पटक प्रयत्न गरें
मध्य रातमा घरबाट भाग्न
मेरो छात्तीमा हात राखेर
निदाइरहेकी श्रीमतीको अनुहार हेरेर रोकिएँ
परिवारको प्यारो र गौतम वुध्द
एक साथ बन्न नसकिने रहेछ
त्यो सपना पनि त्यसै सहिद भयो !
अर्को पटक देखेको थिएँ
चेग्वेभारा बन्ने झक्कीको सपना
देश छोड्न मात्रै के आँटेको थिएँ
मृत्यु शैय्याँमा छटपटाइरहेको देश देखेर रोकिएँ
अर्जेन्टिनामै अड्किएपछि
क्युवा पुग्ने कुरै हरायो
बोलिभियाको कुरा त झन् विपत्तै भयो
यसरी अर्को सपना पनि गर्भे सहिद बन्यो !
पछिल्लो पटक देखेको थिएँ
पुनर्विद्रोही बन्ने सानो सपना
कुप्रा परेका बाऊ आमा संझिएँ
लहलहाउँदा छोरा छोरी संझिएँ
बुढी हुनै नमान्ने श्रीमती संझिएँ
साहुको ऋण
पारिवारिक बोझ
खै के खै के
यस्तै यस्तै
मसिना धागोले अल्झाए
त्यो सपनाको पनि भ्रुणहत्या भयो !
अन्तिम पटक देखेको हुँ मैले
कवि बन्ने खिरिलो सपना
कवि भुपीले भनेझैं
केर्ने मेट्ने , केर्ने मेट्ने
फेरि केर्ने फेरि मेट्ने ,अनि लेख्ने अनि मेट्ने
यस्तै यस्तै गरेर दिन गुज्रदै छन्
मलाई शङ्का छ
मेरो कवि बन्ने सपनाले पनि
कुन दिन मृत्यु वरण गर्ने छ
र एक थान श्रध्दान्जली दिएर
म आफै पनि पुग्ने हुँला
श्रध्दान्जली थाप्ने अवसरमा !
मनभरि बोकेर
असंख्य सपनाहरूको चिहान
यो मन चिहानघारी बनेको छ अचेल
मेरा साथीहरू
मलाई भेट्नु छ भने
सिधै चिहानघारीमा आउनु
जहाँ बसेर हामी
सपनाका कुरा गरौंला
सपनाका सहादतका कुरा गरौंला
र आफ्नो
लोभ, पाप र कायरताप्रति
दिल खोलेर पश्चाताप गरौंला !
भक्तपूर !