एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्छेले दिएको राजीनामा स्वीकृत भएको छ । श्रीलंकामा केही दिनयता आर्थिक संकट पुनः गहिरिदै गएपछि प्रधानमन्त्री राजपाक्छेले सोमबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका हुन् । उनको राजीनमा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजपक्षलाई राजीनामा पत्र बुझाउँदै ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका थिए। त्यस्तो नयाँ सरकारले गहिरिँदो आर्थिक सङ्कटबाट बाहिरिन देशलाई निर्देश गर्न सक्ने पनि उनले पत्रमा उल्लेख गरेका छन्।
सरकार विरोधी प्रदर्शनकारी तथा राजपक्ष दाजुभाइका समर्थकबिच हिंसात्मक झडपहरू भएपछि कर्फ्यु लगाइए लगत्तै उनले राजीनामा दिएका थिए।
प्रधानमन्त्रीको राजीनामा पछि पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन। सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ।आगजनी र तोडफोडमा उत्रिएका सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको पुर्खौली घरमा आगो लगाइदिएका छन्।