काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी र गठबन्धनका उम्मेद्वारलाई जिताउन सबैमा अपिल गर्नुभएको छ । स्थानीय निर्वाचन संघारमै आइपुग्न लाग्दा उहाँले आफूहरुलाई विश्वास गर्न अपिल गर्दै विज्ञप्ती जारी गर्नुभएको हो ।
स्थानीय तहको निर्वाचनमार्फत विकासको गति अघि बढाउने तथा नागरिक अधिकार सुदृढ पार्न आफूहरुले अहम् भूमिका खेल्ने भन्दै मत दिन अपिल गर्नुभएको हो ।
‘विज्ञान र प्रविधिको समुचित प्रयोग, उद्यमशिलतायुवा सहभागीता, सिपमुलक तालिम मार्फत रोजगार प्रवद्र्धन, प्रर्यावरणको संरक्षण र दिगो विकासमा विशेष ध्यान दिदै जनताको जनजीवनलाई प्रत्यक्ष लाभान्वित बनाई सहज सेवा–सुबिधा प्रवाहका साथै गाउँ/नगरको समग्र विकास, सुशासन र समाजवादको आधार निर्माण गर्ने अवसरको रुपमा रहेको यस निर्वाचनमा सम्पूर्ण मतदाताहरुको सक्रिय, उत्साहजनक तथा सार्थक सहभागिताको अपेक्षा गरेको छु,’ उहाँले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) चुनाव चिह्न कलम लिएर यो निर्वाचनमा सहभागी छ । पाँच दलीय गठबन्धनमा सहभागी भई उम्मेदवार बनेका स्थानमा गठबन्धनका दलका चुनाव चिन्हहरु सहित र एकल रुपमा उम्मेवारी दिएका स्थानमा हाम्रो पार्टीका सम्पूर्ण उम्मेदवारलाई कलम चिन्हमा मतदान गरी विजयी गराउनु हुन सम्पुर्ण मतदातामा हार्दिक अपिल गर्दछु, जारी विज्ञप्तीमा उल्लेख छ ।
साथै उहाँले प्रतिगमनकारी तथा दक्षिणपन्थी अवसरवादी दल र तिनका उम्मेदवारहरुलाई पराजित गर्नका लागि भएपनि सत्तागठबन्धनले जित्नै पर्ने उल्लेख गर्नुभएको छ ।
जारी विज्ञप्तीको पूर्ण पाठ:
स्थानीय तह निर्वाचनका सन्दर्भमा हार्दिक अपिल
आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
हामी स्थानीय तह निर्वाचन २०७९ को संघारमा छौं । अधिकारसम्पन्न स्थानीय तह र यसको प्रभावकारी सञ्चालनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र खुसी प्राप्त गर्न यो निर्वाचनले महत्वपूर्ण आधार तयार गर्नुपर्नेछ । बैशाख ३० गते हुने यस पटकको निर्वाचनमा पुराना मतदाताका अलावा ठूलो संख्यामा युवाहरु पहिलो पटक मतदानमा सहभागी हुँदै हुनुहुन्छ । यहाँहरुलाई हार्दिक बधाई सहित मत प्रयोग गरी सही नीति र नेतृत्व चयन गर्दै समुन्नत नेपाल निर्माण गर्न सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु । साथै, युवाहरुसँग सहकार्य गर्दै युवाका नवीन सपनाहरु साकार पार्न हाम्रो पार्टी सदैव तयार रहेको पुनः स्मरण गराउँछु । यसका लागि सही नीति र उक्त नीतिलाई कार्यान्वयन गर्नसक्ने इमान्दार र सक्षम नेतृत्व विजयी हुनु अनिवार्य छ । अतः आसन्न निर्वाचनमा कुनै पनि किसिमको बहकाउमा नलागी मुलुक र जनताको भविष्यको बारेमा गम्भीर भई सम्पूर्ण मतदाताहरुले विवेकसम्मत निर्णय लिनुहुने छ भन्ने मलाई विश्वास छ ।
स्थानीय तहको नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो निर्वाचनको विशेष महत्व रहेको छ । सङ्घीय लोकतन्त्रको जग नै स्थानीय तह हो । जनताका सुख–दुःखमा रहेर प्रत्यक्ष रुपमा काम गर्ने भनेकै स्थानीय जनप्रतिनिधिहरु हुन् । निर्वाचनमार्फत स्थानीय तह बलियो र सुदृढ हुँदा नै लोकतान्त्रिक गणतन्त्र पनि सुदृढ र बलियो हुन्छ । नेपालको संविधान २०७२ जारी भएपश्चात् दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले पहिलो निर्वाचनपश्चात् संस्थागत भएको स्थानीय तहमा विकासको गतिलाई अघि बढाउँदै स्थानीय सरकारलाई थप संस्थागत र सुदृढ गर्ने अपेक्षा गरिएको छ । त्यसैले यहाँहरुको अमूल्य मतले स्थानीय सरकार सहित मुलुकको भाग्य र भविष्य निर्धारण गर्नेछ ।
स्थानीय तह निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सही ढंगले लोकतन्त्र, विकास र समृद्धिको बाटोमा डो¥याउने हाम्रो अठोट रहेको छ । हामी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय, समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिरहने छौँ ।
दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादी अहंकारका विरुद्ध बिद्रोह गरेर हामीले पार्टी पुनर्गठन गरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) गठन गरेका हौं । हामीले पार्टीलाई नयाँ ढंगले पुनर्गठन एवं रूपान्तरण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा जानबाट रोक्ने र समाजवाद निर्माणको कार्यदिशालाई सशक्त ढङ्गले अगाडि बढाउने दायित्वबोध गरेर विद्रोह गरेका हौँ ।
हाम्रो मुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धारमा र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरे अनुरूप मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन चाहने वाम लोकतान्त्रिक धार । वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भएतापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा, गणतन्त्र र सङ्घीयताको संवद्र्धनएवं मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा सहमत भएर सहकार्य गरिरहेका छौं । विगतमा हामीले गरेको प्रतिगमनविरुद्धको संघर्षको परिणाम स्वरुप मुलुकको राजनीतिले निकास पाएको
छ ।
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरुको रक्षा र विकास गर्ने संकल्पका साथ हामीले वाम–लोकतान्त्रिक पार्टीहरुसँग संभव भएसम्म चुनावी तालमेल गरेका छौं । जनसंघर्षबाट हासिल उपलब्धीहरुलाई ध्वंस गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानलाई समाप्त पार्नेजस्ता गतिविधिमा संलग्न व्यक्ति र दलहरु पनि यस निर्वाचनमा सहभागी छन् । प्रतिगमनकारी तथा दक्षिणपन्थी अवसरवादी दल र तिनका उम्मेदवारहरुलाई पराजित गर्दै वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका दलका उम्मेदवारहरुलाई विजयी गराउनुहुन हार्दिक अपिल गर्दछु । मलाई विश्वास छ, जनमत परीक्षणको यो घडीमा आदरणीय मतदाताले हाम्रो पार्टी र पाँच दलीय गठबन्धनमा सहभागी दलहरुलाई आफ्नो अमूल्य मत दिनुहुनेछ ।
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमार्फत विकासको गति अघि बढाउने तथा नागरिक अधिकार सुदृढ पार्ने सन्दर्भमा घोषणापत्रमार्फत अघि सारेको नीति, कार्यक्रम र कार्ययोजनाबारे यहाँहरु अवगतै हुनुहुन्छ । हाम्रो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनीधिहरूले जनताका सुख–दुःखमा रहेर प्रत्यक्ष रुपमा काम गर्दै उपरोक्त नीति, योजना तथा कार्यक्रम इमान्दारिपुर्वक लागू गर्न दृढ संकल्पित हुनेछन् भन्ने कुरामा म विश्वास दिलाउँछु ।
पटक पटकको बलिदानीपूर्ण संघर्षपश्चात निरङ्कुशताको अन्त्य भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको संघर्षकै परिणाम आज राज्य संरचना बदलिएर समावेशी चरित्रको बनेको छ । यो गठबन्धन मुलुकमा लोकतन्त्र, शान्ति, विकास र स्थिरताका निम्ति निर्माण भएको हो । यही गठबन्धनले सम्पूर्ण जाती, भाषा, धर्म, लिङ्ग, क्षेत्र र सम्प्रदायको सशक्तिकरण एवं सर्वोपरी हितको रक्षा गर्नेछ ।
विज्ञान र प्रविधिको समुचित प्रयोग, उद्यमशिलतायुवा सहभागीता, सिपमुलक तालिम मार्फत रोजगार प्रवद्र्धन, प्रर्यावरणको संरक्षण र दिगो विकासमा विशेष ध्यान दिदै जनताको जनजीवनलाई प्रत्यक्ष लाभान्वित बनाई सहज सेवा–सुबिधा प्रवाहका साथै गाउँ÷नगरको समग्र विकास, सुशासन र समाजवादको आधार निर्माण गर्ने अवसरको रुपमा रहेको यस निर्वाचनमा सम्पूर्ण मतदाताहरुको सक्रिय, उत्साहजनक तथा सार्थक सहभागिताको अपेक्षा गरेको छु ।
हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) चुनाव चिह्न कलम लिएर यो निर्वाचनमा सहभागी छ । पाँच दलीय गठबन्धनमा सहभागी भई उम्मेदवार बनेका स्थानमा गठबन्धनका दलका चुनाव चिन्हहरु सहित र एकल रुपमा उम्मेवारी दिएका स्थानमा हाम्रो पार्टीका सम्पूर्ण उम्मेदवारलाई कलम चिन्हमा मतदान गरी विजयी गराउनु हुन सम्पुर्ण मतदातामा हार्दिक अपिल गर्दछु ।
सम्पूर्ण मतदाताहरुको पूर्ण सहयोग र सद्भावको अपेक्षासहित !