काठमाडौं। आज बिहान साढे ९ बजे महाकाली राजमार्गमा पर्ने दार्चुलाको शैल्यशिखर नगरपालिका-६ को ग्वानी भन्ने ठाउँमा से१ज २७७ नम्बरको हाइस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
गोकुलेश्वरतर्फ विजय जुलुसमा सहभागी गराउन मान्छे लिन जानेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनुभयो । मृत्यु हुनेमा चालकसमेत रहेका शैल्यशिखर नगरपालिका-६ का प्रकाश धामी, सहचालक नवीन सिंह धामीको परिचय खुलेको र अर्का एक मृतकको परिचय खुल्न नसकेको वहाँले बताउनु भयो ।
‘जुलुसमा सहभागी गराउन मान्छे ओसार्न गइरहेको भन्ने बुझिएको छ,’ थापाले भन्नुभयो, ‘कुन पार्टी हो खुलेको छैन, हाइसमा सवार तीनजना मात्रै थिए,’। हाइस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । प्रहरी टोली घटनास्थलमा रहेको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।