काठमाडौं। आज विश्वभर ५३ औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस ‘डिजिटल टेक्नोलोजी फर वल्डर पर्सन एण्ड हेल्दी एजेन्सी’ भन्ने नाराका साथ मनाइँदै छ । ज्येष्ठ नागरिक र उनीहरूको स्वस्थ बुढ्यौलीका लागि डिजिटल प्रविधिहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ अन्तराष्ट्रिय दूरसञ्चार संगठन (आईटीयू) का १९३ सदस्य राष्ट्रमा विभिन्न कार्यक्रम गरी यसको आयोजना गरिरहेका छन् ।
यो दिवसलाई संयुक्त राष्ट्रसंघको महासभाले मनाउन सुरु गरेको हो । सन् २०१५ अघि यो दिनलाई विश्व दूरसञ्चार दिवसको रुपमा मात्र मनाउने गरिन्थ्यो । तर पछि संयुक्त राष्ट्रसंघले यसमा सूचना समाज दिवसको नाम समेत थपेको छ । आईटीयू स्थापना भएको दिन मे १७ लाई आधार मानेर सन् १९६९ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । विश्वको हरेक कुनालाई जोडेर सबै फरक संस्कृतिबीच सम्बन्ध स्थापित गराउने दूरसञ्चारको महत्व र शक्तिको सम्झनामा यो दिन मनाउने गरिन्छ ।
भौतिक अनुपस्थितिको माझ आफ्ना प्रियजन तथा साथीभाइहरूको अवस्थाबारे थाहा पाउने एउटै निर्विकल्प माध्यमको रुपमा दूरसञ्चार स्थापित हुँदा यसको महत्व अझ बढ्दै गएको छ । कोभिड–१९ अर्थात कोरोना भाइरस जस्तो विश्व महामारीले सिर्जना गरेको विकराल अवस्थामा हरपल सचेत तथा जानकार रहनका लागि सूचना प्रविधि सबैभन्दा महत्वपूर्ण माध्यम बनेको छ । सन् १८६५ मा स्थापना भएको आइटीयूले विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा सदस्य राष्ट्रलाई यसले सहयोग गर्दै आएको छ ।
दिवसको अवसरमा आइटीयूका महासचिव हावलिन झाओले विश्वलाई सन्देश दिएका छन् । उनले डिजिटल टेक्नोलोजीहरू सबैको स्वस्थ बुढ्यौलीको लागि महत्त्वपूर्ण कारक भएको बताएका छन् । उनले भने, ‘डिजिटल प्रविधिमा समतामूलक पहुँच नै नैतिक जिम्मेवारी मात्र होइन, यो विश्वव्यापी समृद्धि र दिगोपनका लागि आवश्यक छ । हामीले आईटीयूको इतिहास मनाउने क्रममा सबै क्षेत्रहरू र सबै उमेरहरूमा डिजिटल पहुँच विस्तार गर्ने हाम्रो प्रतिबद्धता दोहोर्याउँदैछौं ।’
आईटीयुका अनुसार हाल विश्वभर एक अर्बभन्दा बढी मानिसहरू ६० वर्ष वा सोभन्दा बढी उमेरका छन् । यस्तोमा उनीहरूको स्वस्थ बुढ्यौलीका लागि डिजिटल माध्यमलाई जोडेर हेर्ने उदेश्य आईटीयुको हो । त्यो सँगै प्रविधि ल्याएको अवसर, र उमेरमा आधारित भेदभाव विरुद्ध लड्न, वृद्ध व्यक्तिहरूको वित्तीय समावेशीकरण सुनिश्चित गर्न र विश्वभरका लाखौं हेरचाहकर्ताहरूलाई समर्थन गर्न पनि यसले मद्दत गर्ने अपेक्षा राखिएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आजैकै दिन नेपालमा कुनै कार्यक्रम भने छैन् । नेपाल दूरसञ्चार प्राधिकरणले भन्यो, ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस वर्ष भरी नै मनाउने हुँदा आगामी कार्यक्रममा ज्येष्ठ नागरिकहरुका लागि समेत सहभागी हुने खालका कार्यक्रमहरु समावेश हुनेछ । जसमा डिजिटल साक्षरता जस्ता विभिन्न कार्यक्रम राखिने छ ।’