अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौं। अभिनेत्री सुरक्षा पन्त ७५ औँ कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाने भएकी छन् । यो जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले सामाजिक सञ्जालमा ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौड धुपमा मसँगै दौडिने सहयोगी साथीहरूलाई माया अनि सम्मान छ’ लेखेकी छिन् ।

केही समयअघि ‘द एइट माउन्टेनस’ नामक अन्तराष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको कारण उनी कान्स जान लागेकी हुन् । फिल्मको केही छायांकन नेपालको मुस्ताङमा हुँदा उनलाई कास्ट गरिएको थियो । उक्त फिल्म फेस्टिभलमा छानिएपछि निमन्त्रणा आएर आफू पेरिस जान लागेको जनाएकी छिन् । १७ मे देखि २८ मे सम्म चल्ने फेस्टिभलमा सुरक्षा अभिनीत फिल्म मे १८ मा प्रदर्शन हुँदैछ ।

‘फिल्मको प्रिमियर कान्स जेठ ४ मा हुनेछ। मसँग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरू माझ सुनाउँला, भोलि जाँदै छु। उताको यात्राको पनि मसँग बहुमूल्य अनुभव हुनेछन्’ सुरक्षाले सामाजिक सञ्जालमा लेखेकी छिन् । यस्तै, फेस्टिभलमा पहिलोपटक नेपाली फिल्म ‘लोरी’ औपचारिकरूपमा भाग लिएको छ । अविनाशविक्रम शाही निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us