काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको प्रस्तावमाथि छलफल शुरु हुँदैछ ।
हिजोबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।
उक्त प्रस्तावमाथि आज र भोलि संसद बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको हो । उहाँले आज दिउँसो १ बजेका लागि संसदको बैठक बोलाउनुभएको छ । संसद बैठक अन्तर्गत बजेट अधिवेशनका बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि अवरोध नगर्ने जनाएको छ ।
यसअघि संसदको ९ औं र १० औं वैठकमा निरन्तर अवरोध गर्दै आएको एमालेले फरक परिस्थितिमा बस्न लागेको संसदको बजेट अधिवेशलाई भने अवरोध नगर्ने जनाएको हो । हिजोको संसद बैठकमा धारणा राख्दै एमाले नेता प्रदीप ज्ञवालीले संसदमा रोष्ट्राममा उपस्थित भएरै आफ्नो विरोध जारी राख्ने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो ।