काठमाडौं । देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल बिहीबार पूरा हुँदैछ ।२०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते शुरु भएको थियो ।
स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिका लागि मतगणना जारी छ ।
संविधानको धारा २१५ को उपधारा ६ मा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था र धारा २१६ को उपधारा ६ मा रहेको नगरपालिकाको प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था अनुसार २०७४ मा निर्वाचित जनप्रतिनिधि बिदा हुने भएका हुन्। यससँगै मतगणना सम्पन्न नभएका पालिका जनप्रतिनिधिविहीन हुने अवस्था आएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये केहि स्थानमा बाहेक मतदान सम्पन्न भई मतगणनाको चरणमा छ। आयोगले बुधबार साँझसम्ममा ४७५ स्थानीय तहको मतगणना सकिएका र २७८ पालिकाको मतगणना बाँकि रहेको जानकारी दिएको छ। यसबाहेकका पालिकामा भने मतगणना जारी छ। आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार बिहिबारसम्ममा ९० प्रतिशत मतगणना सक्ने तयारी अनुसार मतगणना भईरहेको छ।