काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत शनिवार बिहानसम्म ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ ।
कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको हो । शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् ।
नतिजाअनुसार नेपाली काँग्रेस ३ सय बढी स्थानमा विजयी बनेर पहिलो स्थानमा रहेको छ । शनिवार बिहानसम्म काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष सहित ३०४ स्थान जितेको छ ।
यस्तै १८४ स्थानमा जितेको एमाले दोस्रो स्थानमा रहेको छ । माओवादी केन्द्र ११६ स्थान जितेर तेस्रो स्थानमा रहेको छ । एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ । बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।