काठमाडाैं । पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत शुक्रबार सम्पन्न चौथो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले युगान्डालाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शृंखलाको चौथो खेलमा नेपाली महिला टोलीले १५ रनको जित निकालेको हो ।
वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको ९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो । अघिल्ला तीन खेलमा जित निकालेको युगान्डाका लागि जनेत एम्बाबाजीले सर्वाधिक २१ रनको पारी खेल्दा रिता न्यान्गेन्डो र फियोना कुलुमेले समान १६ रन जोडे । ओपनर केभिन अविनो ११ रनमा पभेलियन फर्किएको खेलमा अन्य ब्याट्सवुम नेपाली महिला बलिर सामु खुलेर खेल्न सकेनन ।
बलिङमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी नेपालकी हिरनमायी रोयले दुई विकेट लिइन । तीन ओभर बलिङ गरेकी रोयले ११ रन खर्चिइन् । यस्तै, कप्तान रुविना क्षेत्री, अस्मिना कर्माचार्य र कविता कुँवरले एक/एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारि १८ ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर मात्र ९७ रन जोडेको थियो । अघिल्ला खेलमा भन्दा सुरुआत राम्रो भएको खेलमा नेपालकी ओपनर ज्योती पाण्डेले सर्वाधिक १७ रनको बनाएकी थिइन । १३ बलको सामना गरेकी पाण्डेले ४ चौका प्रहार गरेकी थिइन् । अर्की ओपनर विन्दु रावलले १६ रन जोड्ने क्रममा एल्बीडब्लूको धरापमा परिन । यस्तै, सिता राना मगर ११ रन जोडेर पभेलियन फर्किदा अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बनाउन असफल रहे ।
बलिङ तर्फ युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक र तीन विकेट निकाल्दा साराह अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट आफ्नो नाममा लेखाए । पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । नेपाली महिला टिमले पहिलो पटक घरेलु मैदानमा खेलेको क्रिकेट शृंखलाको अन्तिम खेल शनिबार हुनेछ ।