काठमाडौं। अमेरिकी उपविदेशमन्त्रीको टोली नेपालको तीन दिने औपचारिक भ्रमणमा छ। टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान बालुवाटारमा भेटघाट सकेर आफू बस्ने म्यारियट होटेलतर्फ लागेको छ । बेलुका खाडी रास्ट्र हुँदै स्वदेश फर्कनुअघि टोलीले दिउँसो परराष्ट्र र गृहमन्त्रीसङ्ग भेट्दैछ ।
अस्ति दिउँसो काठमाडौं उत्रेपछि नै उक्त टोली तिब्बती शरणार्थी र दलाई लामाका सांसदहरुसँग औपचारिक सम्पर्कमा जुटेको थियो । त्यहि साँझ दलाई लामाका दुई जना सांसदहरुसँग “कमल कुन्ज”मा अमेरिकी अधिकारीहरुले बातचित गरेका थिए ।
हिजो दिनभरजसो उनीहरु राजधानीको जावलाखेल र बौध्दस्थित तिब्बती शरणार्थीहरुसँग भेटघाट र औपचारिक कुराकानीमा जुटे । झण्डै तीन घण्टासम्म जावलाखेलको शिविरमा बिताएको अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको टोली त्यहाँबाट सोझै बौद्ध पुगेको थियो । अमेरिकी अधिकारीहरुको हिजोको दिवाभोजको कार्यक्रमसमेत तिब्बती शरणार्थी शिविर, जावलाखेलभित्रै आयोजना गरिएको थियो ।
अस्ति साँझ अमेरिकी राजदूतको निवास, कमलादीमा भएको विशेष भेटवार्ता र रात्री भोजका अवसरमा युएसएआईडीले लोकतान्त्रिक र समृद्ध भविश्यको निम्ति हाम्रो साझा दृष्टिकोणलाई समर्थन गर्ने भन्दै ६५ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विषय पनि नेपाली अधिकारीहरुलाई जानकारी गराएको बताइएको छ ।
यसअघि भारतको तीन दिने भ्रमणमा रहेको अमेरिकी मन्त्रीको टोलीले धर्मशाला पुगेर दलाई लामासँग भेट गरेको थियो । जिया अमेरिकी सरकारको तिब्बत मामिलासम्बन्धी विशेष संयोजक हुन् । उनको यस पटकको भारत र नेपालको भ्रमण पनि तिब्बत,तिब्बती शरणार्थी र दलाई लामा र प्रजातन्त्रको प्रवर्द्धनमा केन्द्रित छ । आफ्नो भ्रमणको उद्देश्य पूरा गरेर अमेरिकी टोली साँझ ७ बजे दुबई हुँदै इमिरेट्सको उडान नम्बर इके २१५६ बाट स्वदेश प्रस्थान गर्दैछ ।