पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न माग गर्दै नेकपा (एमाले)ले आज निवेदन दिएको छ।
वडामा ४ हजार ३४८ खसेको मतमा ९ मत कम आएपछि आज एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा र महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले निवेदन दिनु भएको हो। यस वडामा पुष्कल बहादुर नेपाली कांग्रेसका उम्मेदवार शिव तिमिल्सिनासँग ३ मतले पराजित हुनुभएको छ। सोमवार निस्किएको नतिजा अनुसार पुष्कलले १ हजार ६४० मत ल्याउँदा शिवले १ हजार ६४३ मत ल्याउनु भएको थियो।
यस्तै, एमालेले वडा ३१ मा पनि पुनः मतगणना गर्न माग गर्दै निवेदन दिने जनाएको छ। मतगणनाको क्रममा तलमाथि भएपछि मतगणना गर्न छुट्यो भन्ने हाम्रो आशंका छ त्यसकारणले पुन मतगणना गर्नुपर्छ भन्ने हो,’ पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले भन्नुभयो।