थापाको हार, राप्रपालाई फलिफाप !

काठमाडौं । नेतृत्वमा सधैं आफैं हुनुपर्छ भन्ने प्रवृत्तिका राजनीतिज्ञले नेपाली राजनीतिलाई दुषित र प्रदुषणयुक्त बनाएका छन् । कमल थापा एक उदाहरण हुन्, जसले नेतृत्व परिवर्तनलाई विभिन्न बहानामा स्वीकार गरेनन् । उनले अध्यक्षको पद आर्यघाटसम्म लैजाने प्रपञ्ज गरेको देखियो । 

अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै थापाको छटपटी सुरु भयो । उनले राजाको आशिर्वाद आफूलाई अध्यक्ष बन्न छ भन्नेसम्मको अभिव्यक्ति दिए तर अन्तिममा उनै पूर्वराजालाई तथानाम गाली गरेर पार्टी छाडे । उनले आफ्नो राजनीतिलाई तीलान्जली आफैं दिए । विचार नै नमिल्ने एमालेसँग थापाको राप्रपा नेपालले स्थानीय निर्वाचनमा सहकार्य गर्यो । तर राप्रपा नेपालका प्रतिनिधि कतै उठेको पाइएन ।

थापाले एमालेसँग सहकार्य गरेर संघीय निर्वाचनमा आफू निर्वाचित हुने उपायकोमात्र खोजी गरेको पाइयो । भलै उनको अध्यक्ष बन्ने सपना भने पुरा भएको छ । तर, उनको कारण राप्रपा कमजोर बनेको रहेछ भनेर प्रमाणित हुँदै गएको छ । उनले संघीय चुनावमा राप्रपालाई राष्ट्रिय पार्टीसमेत बनाउन नसकेको आरोप लाग्ने गरेको छ । उनले स्वार्थभन्दा बाहेकको राजनीति नगरेको प्रष्ट हुँदै गएको छ । थापाको रुप उदांगो भएपछि नांगिदै गएका छन् ।

यता राजेन्द्रलाई भने थापाले समेत पार्टी छाडेर गएपछि चुनौती थपियो । उनले जसरी पनि राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनु थियो । उनले पार्टी नेतृत्व गरेको ६ महिनामा नै त्यसको सकारात्मक प्रभाव देखिएको छ । उनले भने जस्तो सफलता हात नपरे पनि छोटो समयमा पाएको जनमतले राहत भने पक्कै मिलेको छ ।

राप्रपाका संस्थापक भनेर आफूलाई चिनाउने थापालाई राजेन्द्रको उदय भारी परेको छ । उनले राप्रपा सकिने पूर्वानुमान गरेर राप्रपासँगको सम्बन्ध बिच्छेद गरेका थिए । तर राप्रपाको नतिजाले उनको घाउमा नुन खुर्सानी छर्किए जतिकै भएको छ । यता उनको आफ्नो पार्टीको अस्तित्व भने धरापमा छ । उता आफूले छाडेको पार्टीले सोचेभन्दा राम्रो नतिजा ल्याएपछि थापा सशंकित बनेका हुन् । 

एक मात्र सिट जितेको राप्रपा संघीय संसद्मा अहिले स्वतन्त्र भूमिकामा छ । अर्थात् राप्रपाको संसदभित्रको भूमिका र हैसियत स्वतन्त्र उम्मेद्वारले प्रतिनिधिसभा सदस्य जितेर आए जतिमात्र हो । संघीय संसदभित्र नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अस्तित्वमा छन् । उनीहरुले निर्वाचन आयोगले भनेको थ्रेस होल्ड कटाए र आफ्नो पार्टीको अस्तित्व बचाए । लोसपा र नेकपा एकीकृत समाजवादी भने फुटेर अस्तित्वमा आएका पार्टी हुन् । लोसपालाई राजपा भनेर पनि चित्रण गर्न सकिन्छ । जो सुुरुमा जोडिएर जसपा बन्यो अनि फुटेर लोसपा भयो । 

राप्रपाका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देन भने संसदभित्र स्वतन्त्र भूमिकामा छन् । यसको मतलव २०७४ को निर्वाचनमा राप्रपाले थ्रेस होल्ड नै कटाएन् । राप्रपाले ३ प्रतिशत मतसमेत नल्याउँदा राप्रपाको अस्तित्व संसद् भवनमा स्वतन्त्रको हैसियतमा पुगेको हो । तर यसपटकको निर्वाचनमा भने राप्रपाको बीउ जोगाउने राजेन्द्र आफैंले पार्टीको कमान्ड सम्हालेका छन् । उनले चुनावी अभियान तीव्र बनाउँदै लगेका छन् भने राष्ट्रिय पार्टी मात्र बन्ने ध्यानमा होइन उनी वैकल्पिक शक्ति बनाउने सपना जनतालाई सुनाएर घरदैलो पुगिरहेका छन् ।

उनको सपनालाई सार्थकता दिनका लागि पनि स्थानीय निर्वाचनको परिणामले भूमिका खेलेको छ । यसपटक राप्रपाको चुनावी अभियान र आमसभा हेर्दा राप्रपाको पक्षमा खुलेर वकालत गर्नेको संख्या ह्वातै बढेको छ । यसको एकमात्र कारण राजेन्द्रमाथिको विश्वास हो ।

उनले पार्टीबाट लाभ लिएर एकपटक पनि मन्त्री बनेका छैनन् भने उनी अध्यक्ष भएदेखि नै राप्रपाको माग पूरा नभई दायाँबायाँ नगर्ने बताइरहेका छन् । भ्रष्टचार गर्नु आमाको रगत खाएसरह हो भन्ने लिङ्देनको पक्षमा युवाहरु खुलेर लागेका छन् । उनले एकपटक मात्रै आफूलाई विश्वास गरिदिन अनुरोध गर्दै हिँडेका छन् ।

राप्रपाले सम्पूर्ण शक्ति अब संघीय र प्रदेश निर्वाचनमा लगाउने निश्चित नै छ । राप्रपाले उठाएको एजेण्डा पुरा गराउन राजेन्द्र कतिको लागि पर्छन, त्यो आगामी दिनमा देखिने नै छ । उनले जनताको मन जित्न सक्ने देखिएको छ । स्थानीय तहको निर्वाचनले पनि राजेन्द्र उदाउन सक्ने विकल्पलाई खुला गर्दिएको छ ।

राप्रपाले पाएको सफलताभन्दा पनि जनताको स्थापित दलप्रतिको वितृष्णाको प्रत्यक्ष लाभ राप्रपाले लिन सक्ने देखिएको छ । राप्रपाको नेतृत्व परिवर्तनले जनता केही आशावादी बनेका छन् । देशमा स्वतन्त्र चुनाव जित्नु पनि स्थापित दलका लागि खत्तराको घण्टी हो भने राप्रपाका लागि ग्रीन सिंग्नल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *