काठमाडौं । महिनावारी दिवसको अवसरमा एक्सपोज नेपालले काठमाडौँमा बृहत साइकल र्याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबारका दिन काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गर्ने भएको हो ।
र्यालीमा तीन जना साइकलयात्रीले सहभागिता जनाउनेछन् । मंगलबजारमा हुने समापन कार्यक्रममलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नेछिन् । एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको छ ।
सन् २००७ मा स्थापना भएको संस्थाले महिलालाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीका बारेमा कार्यक्रम गर्नुका साथै पुनः प्रयोग गर्न सकिने प्याड निमार्ण र विक्रिवितरण गर्दै आएको छ । संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सिप प्रदान गरी हालसम्म २३ जिल्लाका चार हजार नौ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको संस्थाका अध्यक्ष महर्जनले जानकारी दिए ।
बुधबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्याली आयोजना गरिएको संस्थाका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिएका हुन् । बिहान ७ बजे बसन्तपुरबाट सुरु हुने र्याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ ।