काठमाडौं। आइपिएलमा आज हुने दोस्रो क्वालिफायरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्रतिस्पर्धा गर्दैछन् । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा हुने खेल नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ ।
यो खेलको विजेताले फाइनलमा गुजरात टाइटन्सको सामना गर्दा पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । राजस्थान पहिलो क्वालिफायरमा गुजरातसँग पराजित भएको थियो भने बैंग्लोरले एलिमिनेटरमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो ।
सन् २००८ को पहिलो संस्करण जिते यता फाइनल पुग्न नसकेको राजस्थान आज बैंग्लोरलाई पराजित गर्दै त्यो खडेरी तोड्न चाहन्छ । हालसम्म उपाधिविहीन बैंग्लोर आज राजस्थानलाई हराएर सन् २०१६ पछि फाइनल पुग्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । उसले हालसम्म तीन फाइनल खेलेको छ ।
हालसम्म यी दुईले २७ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा राजस्थान ११ र बैंग्लोर १३ खेलमा विजयी हुँदा तीन खेल बिना नतिजा टुङ्गिएको छ । यो सिजन भएका दुई भेटमध्ये यी दुईले एकरएक खेल आफ्नो पक्षमा पारेका छन् । राजस्थान २९ रन र बैंग्लोर चार विकेटले विजयी भएका थिए ।