काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार सामू आगामी मंसीर भित्र संघ र प्रदेशको चुनाव सम्पन्न गरी सक्नुपर्ने अभिभारा रहेको बताउनुभएको छ ।
शनिवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले वर्तमान सरकार चुनावी सरकार भएको उल्लेख गर्दै उसले आगामी मंसिर भित्र संघ र प्रदेशको चुनाव गरिसक्नुपर्ने संवैधानिक अभिभारा रहेको बताउनुभएको हो ।
उहाँले चुनावी सरकार भएकाले यो सरकारले भोली आउने नयाँ सरकारलाई आर्थिक बोझ थप्ने र पपुलिष्ट हुने खालको बजेट ल्याउन नमिल्नेतर्फ पनि सचेत गराउनुभयो । चुनावी सरकारले जनमतलाई दिग्भ्रमित पार्नेगरी पपुलिष्ट खालको बजेट ल्याउने अनुमति नरहेको उहाँको भनाइ थियो ।
उपाध्यक्ष पौडेलले चुनावी सरकार हो भन्ने हेक्का राखेर मुलुकको संवैधानिक र कानुनी सीमाभित्र बसेर बजेट ल्याउन सरकारलाई सचेत गराउनु भयो । उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नेपालको इतिहासमै सबैभन्दा कमजोर रहेको टिप्पणी गर्नुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रम गठबन्धन सरकारजस्तै दिशाहिन, उद्देश्यहिन, गन्तव्यहिन, मुलुकको समस्या नचिनेको र समाधान पनि दिन नसक्ने खोक्रो र सारहिन रहेको जिकीर समेत गर्नुभयो । उपाध्यक्ष पौडेलले सरकारको नीति तथा कार्यक्रमले संकट उन्मुख मुलुकको अर्थतन्त्रलाई अघि बढाउने कुनै पनि खालको तत्परता र इच्छाशक्ति समेत नदेखाएको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले सरकारको नीति तथा कार्यक्रममा मुुलुकको हित हुने खालको अर्थतन्त्र निर्माण गर्ने कुनै सोच नभएको पनि पटकपटक दोहोर्याउनु भयो ।