नागरिकता समस्या समाधान छिटै गर्नुपर्छ: अध्यक्ष यादव

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाउनुभएको छ।

शनिवार प्रतिनिधि सभामा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताउनुभयो ।

सांसद यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरु, राष्ट्रिय अधिकारबिहीन भएर बाच्न विवश रहेको बताउनुभयो। उहाँले सरकारले नागरिकता विधेयक तत्त्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने बताउनुभयो । सांसद यादवले संघीय निजामति ऐनलाई पारित गरेर संघीयतालाई कार्यान्वयनतर्फ अघि बढाउनु पर्ने बताउनु भयो।

सांसद यादवले मधेसमा निर्वाचन षेत्रहरुको पुनर्निधारण गर्नुपर्ने माग राख्नुभयो । उहाँले निर्वाचन क्षेत्रहरु तय गरिएको बेलामा भन्दा अहिले जनघनत्व बढेकोले त्यसको पुनर्निर्धारण हुन आवश्यक रहेको बताउनु भयो । उहाँले समानुपातिक समावेशिताको कुरालाई शासक वर्गले विशेष महत्व नदिएको बरु त्यसमा नै आफ्ना मान्छेहरु घुसाउने गरेको आरोप लगाउनुभयो ।

सांसद यादवले सबै क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएर विकासलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने नीति लिन आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *