म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बन्द रहेको पर्यटकीय क्षेत्र खुला भएसँगै नेपाल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विदेशी पर्यटक आउने क्रम बढेसँगै पर्यटकीय क्षेत्र पनि चलायमान हुन थालेका छन् । पर्यटकको सङ्ख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सङ्कटमा परेका होटेल तथा पर्यटन व्यावसायीमा आशा पलाएको छ ।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमसँगै विसं २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनाएको थियो । घोडेपानी टोल सुधार समितिका अध्यक्ष वीरेन गर्बुजाले दुई वर्षपछि विदेशी पर्यटक आउन थालेका बताउनुभयो ।
“वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ”, उहाँले भन्नुभयो “केही दिनयता दैनिक १५ जनाको हाराहारीमा विदेशी र ५० जनाको हाराहारीमा आन्तरिक पर्यटक यहाँ आएका छन् ।” पर्यटक आगमन बढ्न थालेकोमा खुसी लागेको उहाँको भनाइ छ ।
अध्यक्ष गर्बुजाका अनुसार वसन्त ऋतुको समयलाई पर्यटक आउने मौसमको रूपमा लिइन्छ । यो समयमा यहाँको पर्यटकीय क्षेत्रहरूमा भिड लाग्ने गर्छ । व्यवसायीले पनि राम्रो आम्दानी गर्छन् । तर, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै विगत दुई वर्षदेखि होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको छ । यस वर्षदेखि भने पर्यटकको सङ्ख्या बढ्दै जाने र होटेल तथा पर्यटन व्यवसायमा थप सहजता आउने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण थला परेको व्यवसायमा बिस्तारै चहलपहल बढ्न थालेको उहाँले बताउनुभयो ।
“पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ”, उहाँले भन्नुभयो, “लामो समय बन्द रहेको होटेल तथा पर्यटन व्यवसायले लय समात्दै छ । फागुन लागेसँगै विदेशी पाहुनाको सङ्ख्या बढेको छ ।” उहाँले विदेशीको सङ्ख्या अझै बढ्ने बताउनुभयो । उहाँका अनुसार हाल आइरहेका विदेशी पर्यटकको सङ्ख्या र विगतका वर्षमा आउने विदेशीको सङ्ख्या भन्दा निकै कम हो ।” कोरोना भाइरस सङ्क्रमणको जोखिम कम हुँदै गएकाले होटेल व्यवसायीहरू पर्यटकको सङ्ख्या बढ्ने आशामा छन् । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जङ्गल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् ।