काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले १५ औं गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्नुभएको छ ।
एक विज्ञप्तीमार्फत् अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आव्हान गर्नुभएको हो ।
उहाँले जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता भएको पनि बताउनुभएको छ ।
साथै अहिलेसम्म पनि जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन नसकेको उहाँको भनाई छ ।
सन्देशको पूर्ण पाठ:
१५ औं गणतन्त्र दिवस, २०७९ को शुभकामना !१५ औं गणतन्त्र दिवस, २०७९ को अवसरमा सम्पूर्ण दिदी बहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । गणतन्त्र स्थापनाका लागि भएको ऐतिहासिक जनक्रान्ति सहित न्यायपूर्ण आन्दोलनहरुमा शहादत प्राप्त गर्नुहुने शहिदहरुप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै उहाँहरुका योगदानको उच्च सम्मान व्यक्त गर्दछु ।
जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशी शासन व्यवस्थासहितको संविधान निर्माणमा सफलता प्राप्त भएको हो । सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भएपनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन ।
राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन । अर्कोतर्फ यही व्यवस्थाको माध्यमबाट शासनसत्तामा पुगेकाहरुमा स्वेच्छाचारी प्रवृति, निरंकुश तरिका र अहंकारी व्यवहार तथा भ्रष्ट आचरण देखिनु दु:खद पक्ष हो । गतबर्ष सार्वभौम जनताको प्रतिनिधित्व हुने प्रतिनिधिसभालाई पटक-पटक विघटन गरी मुलुकलाई पुन: राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयासलाई जनताले असफल बनाएका थिए ।
जनभावनाको कदर गर्दै संविधानद्वारा निर्दिष्ट दायित्व पूरा गर्नु, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउनु अहिलेको आवश्यकता हो । असंलग्न परराष्ट्र नीति प्रति निष्ठावान रहँदै राष्ट्रको सार्वभौम सत्ता र स्वाभिमानको रक्षार्थ दृढताका साध उभिनु हामी प्रत्येक नेपालीको कर्तव्य र जिम्मेवारी हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आव्हान गर्दै गणतन्त्र दिवस, २०७९ को अवसरमा पुन: बधाई तथा शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।