काठमाडौं। काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक मनोज पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अवधि थपेको छ। सुन्दरी प्रतियोगितामा सहभागी किशोरीलाई करणी गरेको आरोप लागेको मनोज पाण्डेलाई यसअघि पाँच दिनको समय लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका लागि समय अपुग भएको भन्दै प्रहरीले थप समय माग गरेपछि जिल्ला अदालतले थप समय दिएको हो।
आठ वर्षअघि सुन्दरी प्रतियोगिता आयोजना गर्दा पाण्डेले आफूलाई होटलमा नशालु पदार्थ खुवाएर करणी गरेको भन्दै पीडितले सामाजिक सञ्जाल मार्फत् भिडियो सार्वजनिक गरेकी थिइन्। उक्त कसुरलाई करणीसम्बन्धी प्रचलित कानुनको हदम्यादले अनुसन्धान गर्न नमिलेपछि प्रहरीले उनलाई मानव बेचबिखन तथा ओसारपासर सम्बन्धी ऐन २०६४ अनुसार अभियोग लगाउने तयारी गरेको छ।
यो घटना सार्वजनिक भएपछि करणी घटनाको उजुरी गर्न पाउने म्याद बढाउन चौतर्फी दबाब परेको छ।