काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सोमबार पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गर्नुभएको छ । आजै शपथ ग्रहण गरेका उहाँले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।
यसका लागि थप निर्णय गर्नका लागि आजै अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ । ‘केही दिनपहिले नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौँ । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सरपीडित हुनुभएको छ । छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो । फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन,’ उहाँले भन्नुभएको छ ।