काठमाडौं। मंगलबार थप ३५ अंक घटेसँगै नेप्से सेयर बजारको परिसूचक नेप्से १७ महिनायताकै न्यून बिन्दुमा झरेको छ । नेप्से २०७७ पुस १९ यताकै न्यून बिन्दुमा कायम भएको हो । आज मंगलबार ३५.५३ अंक घटेर नेप्से २१३७ अंकमा कायम भएको छ । कुल १ अर्ब ३१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।
बैंकिङ २९, विकास बैंक ५४, फाइनान्स २४, होटल तथा पर्यटन ३४, जलविद्युत् ३०, जीवन बीमा ७१, उत्पादन ८०, लघुवित्त ७४, निर्जीवन बीमा २३६, अन्य २६ र ब्यापार उपसमूह ३३ अंक घटे । कुल १५ कम्पनीको मूल्य बढ्यो भने १७५ को घट्यो, ५ को स्थिर रह्यो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । आज पनि इन्भेष्टमेन्ट बैंकको मूल्य १० प्रतिशतले घटेको छ । सो कम्पनीको मूल्य घटेर प्रतिकित्ता ३३१ रुपैयाँमा झरे पनि बिक्री गर्न चाहने धेरैले बेच्न पाएनन् । दैनिक कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतभन्दा धेरैले घटबढ हुन नपाउने व्यवस्था छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नागरिक लगानी कोष क्रमश: अगाडि रहे ।