‘राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै प्रभावकारी कार्यान्वयन आवश्यक’

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय र निकायमा पठाइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहनुभएका उहाँले  स्थापनाकालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको आकलन गरी वस्तुनिष्ठ मूल्याङ्कन र विश्लेषण गरी सम्बोधनका लागि सरकारलाई सुझाव दिँदैआएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सुरक्षाका दृष्टिले महत्वपूर्ण विषयको गहन अनुसन्धान गरी राष्ट्रिय सुरक्षाका सम्बन्धमा उचित राय सुझाव प्रदान गर्ने प्रमुख जिम्मेवारीका साथै प्रशासनिक भूमिका निर्वाह गर्दै सचिवालयले आगामी दिनमा थप प्रभावकारी कार्य सम्पादन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री  देउवाले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन एवं नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्ने दायित्व सुरक्षा परिषद्को रहेको उल्लेख गर्नुभयो । सुरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील विषयमा परिषद्ले जिम्मेवारी निष्ठापूर्वक सम्पादन गरेकामा प्रसन्नता व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “सचिवालयले आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा र इमान्दारीका साथ सम्पादन गरेको पाउँदा प्रसन्नता अनुभव भएको छ ।”

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा चुनौतीजस्ता विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । राष्ट्रिय सुरक्षा नीति, २०७५ सम्बन्धी तयार गरिएको मार्ग निर्देशन आजैका मितिदेखि लागू हुने सो अवसरमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us