काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताउनुभएको छ । बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उहाँले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
शनिवार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो निवासमा एक संक्षिप्त बधाई कार्यक्रम राख्दै सबैलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले समाजले स्वास्थ्य सेवाका साथै सामाजिक सेवामा उल्लेखनीय योगदान गरेको चर्चा गर्दै आगामी दिनमा पनि संस्थाले अझ बढी योगदान गर्नुपर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो‘ ‘आगामी दिनमा समाजले मकवानपुर केन्द्रित गरी अझ व्यापक र फराकिलो ढंगले मानवीय र सामाजिक काममा भूमिका बढाउनुपर्छ, त्यसका लागि मेरो व्यक्तिगत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट सहयोग गर्न सधैँ तयार छु ।’
समाजका अध्यक्ष अरुणकुमार गुरुङले मञ्चले अहिले झैँ आगामी दिनमा पनि राजनीतिक भावनाभन्दा माथि उठेर विशुद्ध सामाजिक काममा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रीका प्रमुख स्वकीय सचिव माधवप्रसाद तिमल्सिना, मञ्चका सल्लाहकार डा अंगुर कार्की, रवीन्द्र श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।