मलेरियाका थप चार जना बिरामी फेला

सर्लाही । बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन् ।

बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया (औलोरोग) देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया (औलोरोग) देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । सबै बिरामीको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया (औलोरोग) लाग्दछ । मलेरियाका बिरामी भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घरघरमा स्वास्थ्यकर्मी खटाएर औषधि छर्कने काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । सरकारले सन् २०२२ भित्र मलेरिया शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भए पनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा सङ्क्रमण देखा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *