काठमाडौं। बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचन अझै हुन सकेको छैन र हुने मिति अझै टुङ्गो लाग्न सकेको छैन ।
वैशाख ३० मा भएको स्थानीय चुनावमा बुथ कब्जाको कोशिस भएपछि मतदान स्थगित गरिएको थियो । नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाइरहेको छ। मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीहरूले प्रभावकारी भूमिका नखेलेको आरोप पनि लागेको छ।
त्यसैले निर्वाचन आयोगले सिडिओसहित प्रहरी प्रमुखहरू परिवर्तन गरी पुनः निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरेको थियो। आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ। चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको हो।
गृह मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ। सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ। निर्वाचन आयोगले पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको छ । यसैबीच मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायतसँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको छ।
सिडिओ प्रकाशचन्द्र अधिकारीले निर्वाचनका लागि सुरक्षासम्बन्धी सबै तयारी गरिसकिएको जानकारी दिनुभयो । अब छिट्टै मिति तोकेर पुनः निर्वाचन गरिने उहाँले बताउनुभयो । बुढीगंगामा कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार हुनुहुन्छ ।