पोखरा। विश्व वातावरण दिवसको सन्दर्भ पोखरा महानगरपालिकाले तीन महिनाभित्र महानगर भित्रका सबै घर कम्पाउन्डमा बिरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज अचार्यले अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने घोषणा गर्नुभएको हो ।
आइतबार ५०औं विश्व वातावरण दिवशको अवसरमा महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिनुभयो । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उहाँले बताउनु भएको छ ।
केही वर्षअगाडि सेती नदीमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उहाँले वातावरणीय सन्तुलन कायमका लागि वृक्षरोपण अनिवार्य रहेको धारणा राख्नुभयो । उहाँले सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गर्नु भएको छ । पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, चौतारा र बर पिपल मासिएका उल्लेख गर्दै उहाँले सडकका किनारामा कस्तो बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निस्कर्षमा पुगिने बताउनु भयो ।
‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए । चौताराहरु थिए । प्रशस्त वरपीलका बिरुवाहरु थिए, ती सबै मासिए’, उनले भने, ‘अब जे–जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडकछेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौँ । अनि पोखरालाई नाराअनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउनेछौँ ।’
मेयर आचार्यले खाली जमिनमा वृक्षरोपण कार्यक्रम गर्न पोखरास्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गर्नुभएको छ । बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका बिरुवाको संरक्षण पनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताउनु भयो । सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उहाँले वृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गर्नु भएको छ ।
महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा मेयर आचार्य, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालसहित जनप्रतिनिधि, महानगरका कर्मचारी र स्थानीहरुको सहभागिता थियो । पोखरा महानगरपालिका वडा नम्बर २४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवशको अवसर पारेर बृक्षारोपण गरिएको हो । वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीका अनुसार विभिन्न प्रजातिका दुइसय भन्दा धेरै विरुवा रोपिएको छ ।
उक्त अवसरमा बोल्दै वडाध्यक्ष अधिकारीले अहिले वडावासी दाजुभाई दिदिबहिनी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो। यसको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टैसम्पन्न गरेर नगरवासीलाई खानेपानी उपलब्ध गराउने काममा आफूहरु लागि पर्ने बताउनु भयो ।