काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वसाधारणलाई शौचालय प्रयोग दिने संस्था तथा व्यक्तिलाई कर छुट नदिने भन्नुभएको छ। आइतबार महानगरपालिकाको कार्यपालिका बैठकमा बोल्दै सर्वसाधारणलाई शौचालय निशुल्क गर्ने संस्थालाई सरसफाई सामग्री दिइने तर कर छुट दिन नसकिने बताउनु भएको हो ।
शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जबर्जस्ती नगरेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो,‘हामीले दबाब दिएर शौचालय प्रयोग गर्न दिनु भनेका होइनौं, उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो।’
यसअघि रेष्टुरेण्टलाई कर छुट दिने तयारी गरिएको थियो । तर, पछिल्लो समय बैंकहरू शौचालय प्रयोग गर्न दिन तयार भएका छन्। त्यसैले सबैलाई कर छुट गर्न नसकिने मेयर साहले बताउनु भयो। महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिइने उहाँले जानकारी दिनुभयो। उपत्यकामा शौचालयको समस्या समाधान गर्नका लागि मेयर साहले पहिलो कार्यपालिका बैठकमा नै निजी संस्थाका शौचालयलाई सर्वसाधारणलाई खुला गर्ने निर्णय गर्नु भएको थियो।