प्रधानमन्त्री देउवा एनआरएनएको आयोजनामा हुने कार्यक्रममा सहभागी हुँदै

काठमाडौं। एनआरएनएको आयोजनामा बिहीबार काठमाडौंमा हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने कार्यक्रम छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, वैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा छलफल गर्न आयोजित सो ६ घण्टे कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतका मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

मुख्यसचिव शंकरदास बैरागीसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समेत कार्यक्रममा सहभागिता जनाउनदै हुनुहुन्छ । उद्योग, अर्थ, परराष्ट्र मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोली समेत कार्यक्रममा उपस्थित हुने छ भने प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल सरकारलगायत विभिन्न सरोकारवालाको समेत उपस्थितिमा गैरआवासीय नेपालीका माग सम्बोधन गराउने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्री गगन थापा, सांसद डा सूर्यप्रसाद पाठक, कृष्णभक्त पोखरेल, लक्ष्मणलाल कर्ण, राष्ट्रियसभाका वर्तमान र पूर्वसदस्यहरू खीमलाल देवकोटा, राधेश्याम अधिकारी, सांसद पुष्पा भुषाल गौतम, रेखा शर्मा, पूर्वमन्त्री योगेश भट्टराई सहभागिता रहने छ ।

चार चरणमा आयोजना हुने कार्यक्रममा विभिन्न विषयका विज्ञले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेको संघका अध्यक्ष डा बद्री केसीले जानकारी दिए । काठमाडौंको र्‍याडिसन होटलमा आयोजना हुने एक दिने सो सेमिनारमा गृहसचिव टेकनारायण पाण्डे, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, अर्थसचिव मधुकुमार मरासिन, परराष्ट्र सचिव भरतराज पौडेलले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा हेमराज शर्माले सरकार प्रमुखसहित सरोकारवाला मन्त्रालयका मन्त्रीसहितको उपस्थितिमा हुने कार्यक्रम संघका माग पूरा गर्न कोशेढुंगा सावित हुने बताउनु भयो । उहाँले संघले विगत डेढ दशकदेखि उठाएका मागहरुको टुंगो लगाउने शुर्वण अवसर भएको बताउनु भयो । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सम्बोधन गर्ने सो कार्यक्रमका लागि संघका अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसी लगायतका पदाधिकारी काठमाडौं आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us