काठमाडौं। सुन्धरास्थित सिटीसी मलको लिलामी प्रक्रिया रोकिएको छ । कर्मचारी सञ्चयकोषको ऋण नतिरेपछि कोषले गत वैशाख २६ गते लिलामीको लागि ३५ दिने सूचना जारी गरेको थियो । कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरु कोहीपनि ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।
मलका सञ्चालक इच्छाराज तामाङका आफन्त अदालत गएपछि मलको लिलामी प्रक्रिया रोकिएको कर्मचारी सञ्चयकोषका प्रवक्ता दामोदर सुवेदीले बताउनुभयो । मलका सञ्चालक इच्छाराज तामाङका आफन्तले लिलामी प्रक्रिया रोकी पाउँ भनेर मुद्दा दायर गरेपछि यो प्रक्रिया रोकिएको छ ।ु सुवेदीले भन्नुभयो, ुअब अदालतले बाटो नखोलेसम्म अगाडि बढ्न मिल्दैन।ु
६ रोपनी जग्गामा बनेको सिटीसी मल ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । उक्त मलमा १३२ ओटा सटरहरू निर्माण गरिएको छ ।सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि गत पुस देखि नै सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।
कोषबाट ऋण लिन सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्गफिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा पसलहरु धितो राखिएको थियो ।
मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन्। व्यक्तिगत जमानीकर्ता तर्फ उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन् ।