काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो बस्दैछ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन वटा विधेयक प्रस्तुत गर्नुहुनेछ । उहाँले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि विधेयक प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । सो विधेयक आजै प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।
उहाँले नै नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्नुहुने सम्भावित कार्यसूची छ। संसदले बिहीबार मात्र आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो ।