भैरहवाबाट श्रम स्वीकृतिका सबै सेवा

काठमाडौं। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पूर्व र अन्तिम श्रमस्वीकृति सहित सबै सेवा काठमाडौंपछि पहिलो पटक भैरहवाबाट सुरु भएको छ । संस्थागत पूर्व तथा अन्तिम र व्यक्तिगत श्रमस्वीकृतिका लागि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना भएपछि वैदेशिक रोजगार विभाग ताहाचल कार्यालय आउनुपर्र्ने झन्झट हटेको हो ।
यसअघि सो क्षेत्रबाट मासिक २ हजारदेखि २५ सय श्रमिकले पुनः श्रम स्वीकृतिको सेवा लिन काठमाडांै नै आउनुपर्ने बाध्यता थियो । संस्थागत पूर्व तथा अन्तिम र व्यक्तिगत श्रमस्वीकृतिको सेवा विस्तार भएसँगै सेवा लिनेको संख्या बढ्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले श्रमस्वीकृति लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर रोजगारीका लागि विदेश जाने श्रमिकको सहजिकरणका लागि विमानस्थलभित्र वैदेशिक रोजगार सूचना तथा व्यवस्थापन कक्षसमेत खडा गरिसकेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीका लागि श्रम तथा रोजगार व्यवस्थापन कार्यालय बुटवलबाट दिँदै आएको सेवा अझ सहज बनाउन भैरहवामा वैदेशिक रोजगार शाखा स्थापना गरिएको बताए । “अब बुटवल कार्यालयबाट विदेश जाने श्रमिकले लिँदै आएको पुनः श्रम स्वीकृतिसहित अन्य सेवालाई भैरहवामा स्थानान्तर गरी सबै प्रकारका श्रम स्वीकृति सेवा लिन पाउने गरी विस्तार गरिएको छ,” महानिर्देशक पौडेलले कारोबारसँग भने, “यसका साथै विमानस्थलभित्र विदेश जाने श्रमिकका लागि सूचना तथा सहायताकक्ष समेत यसअघि नै स्थापना भइसकेको छ ।”
श्रम तथा रोजगार कार्यालय बुटवलका शाखा अधिकृत दामोदर ज्ञवालीले बुटवल श्रम कार्यालयले दिँदै आएको वैदेशिक रोजगार सम्बन्धी सेवा भैरहवामा विस्तार गरेपछि सेवाग्राही अझ बढ्ने बताए । उनले कोरोना संक्रमणअघि बुटवल कार्यालयबाट अधिकतम मासिक ५ हजारसम्मलाई श्रमस्वीकृति दिएको जानकारी दिए । सेवा विस्तारपछि चितवन पश्चिम रहेका मेनपावर कम्पनी तथा तिनीहरुका शाखामा आउने नयाँ मागपत्रको पूर्व र अन्तिम श्रम स्वीकृति भैरहवा क्षेत्रबाट लिन सकिने छ । हालसम्म भने संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि विभागको ताहचल कार्यालयबाट मात्र सेवा लिन पाउने व्यवस्था रहेको थियो ।

सरकारले ०७५ माघ २३ बाट वैदेशिक रोजगारीबाट बिदा आएका कामदारले पुनः श्रम स्वीकृति सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गर्न ६ प्रदेशमा सेवा विस्तार गरेको थियो । सरकारले पुनः श्रम स्वीकृति सेवा प्रदेश तहमा विस्तार गर्ने योजना अनुसार ६ वटा प्रदेशमा यसका लागि आवश्यक पर्ने कार्यालय स्थापना गरी काठमाडौं धाउनुपर्ने बाध्यता अन्त गरेको थियो । श्रम मन्त्रालयले ०७५ पुस १५ बाट प्रदेश २ र ५ बाट शुरु गरेको पुनः श्रम स्वीकृति सेवा माघसम्म सबै प्रदेशमा विस्तार गरेको थियो । प्रदेश तहमा नै सेवा विस्तार गरेपछि श्रम स्वीकृति र बिमा बाहेक नै प्रति कामदार औसत १० हजारभन्दा बढी बचत हुँदै आएको छ ।
पुनः श्रम स्वीकृति सेवालाई विकेन्द्रिकरण गर्ने योजना अनुसार अन्य ६ वटै प्रदेशमा सेवा विस्तार गरेर हाल भैरहवाबाट भने सबै सेवा शुरु गरिएको हो । मन्त्रालयले शुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट पुनः श्रम स्वीकृतिको सेवा शुरु गरेर क्रमशः कर्णाली प्रदेशको सुर्खेत, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढी र प्रदेश १ को विराटनगरबाट पनि सेवा शुरु गरेको थियो ।
अब वार्षिक औषत २ लाख ५० हजार नेपालीले आवेदन दिने पुनः श्रम स्वीकृतिको प्रदेश स्तरसहित भैरहवाबाट अन्य सेवा विस्तार गरेसँगै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलमा भिडभाड कम हुने भएको छ । प्रदेशमा रहेका श्रम कार्यालयबाट श्रम स्वीकृति प्रदान गर्ने बाहेक वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य समेत हुने गरेको छ । सरकारले क्रमशः नयाँ श्रम स्वीकृतिका लागि समेत अन्य प्रदेश स्तरबाटै गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *