काठमाडौं। साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ७.५७ अंकले घटेर १९७१.३६ को बिन्दुमा झरेको छ ।
नेप्सेले शुक्रबार ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्रै शेयरबजार खोल्ने निर्णय गरेको थियो । जसको प्रभाव आजको शेयरबजारको इन्डेप्थले देखाएको छ । शुक्रबार कारोबारको समयावधि घटेसँगै आज पुँजीबजारमा जम्मा ७३ करोडको मात्रै कारोबार हुन पुगेको छ ।सरकारले दुईदिन सार्वजनिक विदा खारेज नेप्सेले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार सञ्चालन रहने आधिकारीक सूचना प्रकाशित गरेको थियो ।
नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको कारोबार भएको हो ।
यस दिन आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ९।९९ प्रतिशत अर्थात ५४ रुपैयाँ २० पैसा बढेर ५९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य यस दिन ४ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ५।९३ प्रतिशत घटेको छ। त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर र सिंगटी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ। १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। यद्यपि, कुनै पनि उपसमूहको परिसूचकको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।