चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने

काठमाडाैं । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्र हुने देखिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार आठ सय किमी सडक कालोपत्रको लक्ष्य लिएको थियो । तर, जेठ मसान्तसम् झन्डै ६ सय किमी मात्रै सडक कालोपत्रे भएको सडक विभागका महानिर्देशक अर्नुनजङ्ग थापाले जानकारी दिए । त्यसैगरी एक वर्षमा आठ सय किमी सडक ग्राभेल गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म दुई सय ९५ किमी सडक मात्रै ग्राभेल भएको छ। अहिले पनि ‘कन्सट्रक्नश होलिडे’ का कारण निर्माण सुस्त छ।  ‘यो महिनाको अन्तिमसम्ममा एक–डेढ सयसम्म बढ्नसक्छ,’ थापाले भने । 

गएको महिनासम्ममा मन्त्रालयको भौतिक प्रगति ५५ प्रतिशत थियो । भुक्तानी कम भएकाले वित्तीय प्रगति भने झन्डै ३९ प्रतिशतमात्रै थियो । कतिपय योजनामा काम हुने तर बजेट नहुने र कतिपयमा बजेट हुने तर काम नहुने समस्या रहेको छ । काम भएको शीर्षकमा पैसा नभएमा काम नभएका शीर्षकबाट त्यसमा रकमान्तर गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयमा रकमान्तरका लागि अनुरोध गरिएको र मन्त्रालयले स्वीकृत गरेपछि भुक्तानी गरिने महानिर्देशक थापाले बताए ।

चालु आवमा प्रगति ६० देखि ६५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गएको वर्षमा सुरु विनियोजनअनुसार ७६ प्रतिशत प्रगति भएको थियो । चालु आवमा गएको वर्ष जति प्रगति नहुने थापाले बताए । चालु आवमा पूरक बजेट तीन महिना ढिला भएकाले यकिन विनियोजन ढिला मात्रै थाहा भएको थापाको भनाई छ। पछिल्लो दुई वर्षदेखि कोभिड सङ्क्रमणका कारण निर्माणमा असर पुगिरहेको छ । चालु आवमा पनि सङ्क्रमणका कारण निर्माणमा अवरोध पुगेको भएको मन्त्रालयले जनाएको छ। 

अहिले रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थ, रड,  छडलगायतको निर्माण सामग्रीको भाउ निकै बढेको छ । युद्धपछि ती सामग्रीको भाउ अहिले दोब्बर भएपछि निर्माण व्यवसायीले ‘कन्सट्रक्नश होलिडे’ गरिरहेका छन् । महानिर्देशक थापाले भने, ‘व्यवसायीले अलकत्राको काम नगरेको, छडको काम कम गरेको र इन्धन लाग्ने काम कम गरेका छन्।’ 

सरकारले केही वर्षयता बर्सेनि तीन सय वटा पुल निर्माणको लक्ष्य लिँदै आएको छ । गएको महिनासम्ममा एक सय पाँच वटा पुल निर्माण गरिएको थियो । अरू पुल पनि सम्पन्न भइरहेको महानिर्देशक थापाले बताए। कतिपय पुलको मुख्य संरचना निर्माण सकिएर रेलिङ, रङ, पहुँच सडक बन्न बाँकी छ।  ‘यो महिनामा गएको वर्षभन्दा कम हुँदैन भन्ने विश्वास छ,’ थापाले भने।

अहिले निर्माणाधीन सडक र पुल समयमा नसकिएमा असारपछि अवधि थप गर्नुपर्ने हुनसक्ने सडक विभागले जनाएको छ । ठेक्काको अवधि थप्नका लागि कारण चाहिने महानिर्देशक थापाले बताए। योजना समयमा नसकिनु नै प्रमुख कारण भएकाले त्यो अर्को वर्षका लागि धकेलिन सक्ने देखिन्छ।  

समग्रमा सडकमा प्रगति कम भए पनि राष्ट्रिय गौरवको आयोजनामा भने चालु आवमा छुट्टाइएको रकमभन्दा बढी खर्च हुने देखिएको छ । अहिले नै ती आयोजनामा सुरुमा भएको विनियोजन रकम खर्च भइसकेको छ । भौतिक प्रगतिका आधारमा पनि उल्लेखीय काम भएको पाइएको विभागका महानिर्देशक थापाले बताए। 

मदन भण्डारी राजमार्गमा चालु आवमा दुई अर्ब रुपैयाँ विनियोजन भएकोमा अहिलेसम्म साढे तीन अर्ब रुपैयाँ खर्च भइसकेको छ । यस आयोजनामा अझै एक–डेढ अर्ब रुपैयाँ थप खर्च हुने देखिएको छ । हुलाकी राजमार्गमा पनि गएका वर्षहरूमा जस्तै धेरै खर्च भएको थापाले जानकारी दिए। मध्यपहाडीमा विभिन्न किसिमका विवादले तुलनात्मकरूपमा कम खर्च भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us