डर !


राधा शर्मा । केही समयअघिको कुरा हो, देशमा बलात्कार, हत्याहिंसा, यौन शोषण र उत्पीडनका घटनाहरु दिनहुँ बाहिर आईरहेका थिए । महिला हिंसा विरुद्धको आन्दोलन चर्किरहेको थियो । म पनि दिनहुँजस्तो आन्दोलनमा गएर महिलाको पक्षमा आवाज उठाईरहेको थिए । कहिले कसलाई न्याय देउ, कहिले कसलाई न्याय देउ भन्दै ।

त्यो क्रम चलिरहेकै थियो । त्यो दिन पनि म माईतीघरमा आन्दोलनका लागि जाँदै थिए । घरबाट निस्कदाँ पानी पर्ला जस्तो थिएन अनि रेनकोट नबोकी म स्कुटरमा हुँइकिए । दिउँसो २ बजेका लागि कार्यक्रम भनेको थियो । संयोग भनौँ वा परीक्षा एकदिन म अरुको धर्नामा हिँडेको मान्छेले करिब दुईघण्टा आफूलाई खुब असुरक्षित महशुस गरे ।

दिल र दिमागबीच यति धेरै द्वन्द चल्यो कि मैले के गर्ने नगर्ने निर्णय गर्न सकिन । बाग्मती खोला किनार हुँदै जान लागेको असिना र पानी यति धेरै दर्कियो कि म कतै नबसी सुखै भएन । खोलाको किनारमा अल्लि पर नपुग्दासम्म बस्ती थिएन, पर पुग्दा असिना र पानीले पुरै चुटिने अनि त्यही भएर म एउटा जस्ताको छानो भएको सानो छाप्रोनिर ओत लाग्न पुगेँ ।

तर त्यो छानो अत्यन्तै सानो, बाङ्गो र मुसलधारे हुनाले म त्यहाँ ओत लाग्न सकिन । त्यसभन्दा पछाडि अलिकति ओत लाग्ने ठाउँ खोज्दै गएको बाग्मती खोला किनारमा काम गर्ने कामदारहरु त्यहीँ बस्दा रहेछन् ।

मलाई त्यहाँ भित्र जान अप्ठेरो लाग्यो । त्यसमा पनि ३ जना केटामान्छे मात्रै थिए । अनि अधबैँसे उमेरको मान्छेले ढोकाबाट हेरेर बहिनी भित्रै आउनुस् न यता ओत लाग्दा हुन्छ, मलाई तर एकदमै अप्ठेरो लागेको थियो अप्ठेरो यस अर्थमा कि म पनि कतै सुरक्षित हुन्न कि केटामान्छे नचिनेका सुनसान जस्तो ठाउँ, मुसलधारे असिना पानी , गड्गडाएको बाग्मती खोला किनार यो सम्झेर झनै मन अत्तालियो ।

आउनुस् न, अप्ठेरो नमान्नुस्, फेरि अनुरोध गरेपछि म ढोकाको आडमा उभिए । त्यहाँ २ जना केटाहरु मोबाईल चलाएर सुतिरहेका थिए भने एकजना अधबैँसे उसै बसेको थियो । तन्दा बिनाको फोहोरी ओछ्यान, यत्रतत्र फालिएका भाडा, त्यहीँ र्याक माथि रहेको ग्याँस चुलो अनि आगामा पकाएका जस्ता काला भाडा । त्यहाँ भएका प्रत्येक वस्तुलाई नियालेर हेरे ।
साईडमा ३ जोर सेता नयाँ जुत्ता पनि राखिएको थियो ।

अनि अलिकति साईडमा भने पुराना सामानजस्तो फोहोरको डंगुर थियो । ठूलो पानी परेकोले उनीहरुको छाप्रो भित्रै पानी पस्यो, असिनाले जस्ता फुटाउला जसरी डंगडंग हानिरहेको थियो । म भने ती प्रत्येकलाई पालैसित हेरिरहेको थिए ।

म ओत लाग्न आएको एकैछिनमा अर्को मान्छे पनि ओत लाग्ने ठाउँ खोज्दै आए । उनी पनि छाप्रोभित्र पसे, म ढोकाबाट सबैलाई पालैसित हेरिरहेको थिए । २ जना त मोबाईलमै ब्यस्त थिए अनि अर्को अधबैँसे बेलाबेला मलाई हेथ्र्यो, अनि झ्याल खोलेर पानी दर्किएको, बाग्मती बढेको हेथ्र्यो, अनि म पनि ढोकाको छेउमा उभिएर बाग्मती गड्गडाएको हेरिरहेको थिए । तर एकदमै डराईरहेको थिए ।
कहिले टिभीमा हेरेको फिल्मको सिनको याद आउँथ्यो, कहिले समाचारका घटना, कहिले के कहिले के । त्यहाँ बस्दासम्म मलाई धेरै पटक त म पनि केटा मान्छे भएर जन्मिन पाएको हुने नि भन्ने सोँच आयो । तर, मलाई यो थाहा थिएन, उनीहरुको दृष्टिकोणा म प्रति सही थियो या थिएन, तर म आशंकाको भरमा धेरै डराएको थिए । मुसलधारे पानीमै निस्किउँ कि भन्ने पनि लागेको थियो ।
हुनत, उनीहरु देख्नमा अबोध देखिन्थेँ, म सँगसँगै ओत लाग्न आएको मान्छे अझ धेरै भद्र लागेको थियो मलाई तर, पनि म ती अपरिचितहरुसँग ढुक्क भएर ओत लाग्न भने सकेको थिएन । मन डराईरहेको थियो । फेरि अरु २ जना व्यक्तिहरु पनि ओत लाग्न भनेर आए । ती पनि केटा मान्छे नै थिए ।

एकजना अधबैँसे, अर्को ठीक्कको । ती आउँदा मलाई केही राहात त महशुस भयो, तर सुरक्षित छु भन्नेमा पूर्ण विश्वस्त भने हुनसकिन । मनमा अनेक शंका, उपशंका उब्जिए । संयोग भनौँ, हतारमा ओत लाग्ने ठाउँ खोज्दै आउँदा स्कुटरको डिकीमै मोबाईल छुटेछ, अनि बाहिर फेरि लिन जानसक्ने सम्भावना पनि थिएन । बरु फोन भएपनि घरमा यहाँ छु ओत लागेर बसेको भनेर जानकारी दिन्थेँ, केही भएपनि यहाँ रहिछे छोरी भन्ने हुन्थ्योँ लागेको थियो ।

तर, ठूलो मुसलधारे पानीले बाहिर निस्कन पनि सकिन । हुनत, मसँगै ओत लाग्न आएका अरुको मोबाईल मागौँ कि लागेको थियो, फेरि के सोच्लान् भनेर माग्न पनि सकिन । यिनीहरुले मलाई केही गरेर बाग्मती ठूलो भेल आएको बाग्मती नदीमा फाल्दिए भने ? अनि फेरि ती सबै केटा मानिसहरुको अनुहार पालैसित हेरे । छाप्रोमा भएका ३ जनामध्ये २ जना अझै मोबाईलमै ब्यस्त थिए, अनि त्यो अधबैँसे मानिस चुपचाप त्यहीँ खाटमा बसेको थियो । अनि मसँगै ओत लाग्न आएका बाँकी ३ जना भने आफैँ गफ गरिरहेका थिए ।

तर, मलाई ती ओत लाग्न थप २ जना आएपछि भने अलिकति डर कम भएको थियो । तर, त्यहाँ उभिउन्जेल टाउकाबाट हेल्मेट भने खोलिन । न मास्क नै । अनि केही नभए जसरी हिम्मतका साथ भने आज कति ठूलो पानी पर्यो है, उनीहरु थपे । हो नि बहिनी हेर्नु त, असिना पनि कति ठूला । बहिनी भन्ने शब्दले थोरै राहात महशुस भयो, अर्कोले भने अब, असारमा पानी नपर्ने होला यहीँ तालले त, हाम्रो त गाउँको खेत पानी नपरे रोपाईँ नै हुँदैन भनेको ।

म उनीहरुलाई अरु कुरामा भुल्याएर समय बिताउन चाहेपनि पूर्ण सुरक्षित छु भन्ने अनुभूति भने भएको थिएन । अनि उनीहरुले यस्तै यस्तै प्रशंगमा कुरा गर्न थाले अनि मलाई थोरै राहात महशुस भयो । उनीहरु समसामयिक राजनीति, देशको अवस्था यस्ता कुरा पनि गर्न थाले । म पनि उनीहरुलाई उक्साउन नेताहरुले यसो गरेनन्, उसो गरेनन् भनिरहेको थिए । उनीहरु मेरो कुरामा सहमत जनाईरहेका थिए ।

म ढोकाको छेउमै उभिएको थिए, बाहिर हेर्दै उनीहरुलाई भन्थे, हेर्नुस् त खोला कति बढेको, कति गड्डाएको ? यो छाप्रोसम्म त आउने होईन खोला ? हावाले छानो त उडाउने होईन म यस्तै भनिरहेको थिए । उनीहरु पनि आफ्ना अनुभव सुनाईरहेका थिए । कोही गाउँघरका कुरा जोडिरहेका थिए । कोही विदेश जाने कुरा यस्तै यस्तै । त्यसरी सबैजना आफ्नो कुरामा ब्यस्त भएपछि मलाई ढुक्क महशुस भयो ।

तर, पनि म पानी रोकिने प्रतीक्षाम थिए । बेलाबेला मेरो नजर ती केटामान्छेहरुतिर, अनि बेलाबेला दर्किएको, पानी, गड्गडाएको खोला, दयनीय लाग्ने मजदुरहरुको बसाईतर्फ गईरहेको थियो । अनि कुरा गर्दै जाँदा एकजना व्यक्ति त मेरो जिल्लावासी ओल्लोपल्लो गाउँकै रहेछन्, अनि अरु पनि शिक्षक र व्यवसायी रहेछन् ।

उनीहरु सबैसँग राम्रोसँग कुरा हुन थालेपछि, उनीहरुको दृष्टिकोण बुझेपछि भने लगभग डर सबै हरायो । यिनीहरु गलत मान्छे होईनन् भन्ने भयो, यिनीहरुका दिदीबहिनी, छोरी, श्रीमती पनि त म जस्तै हुन् भन्ने सकारात्मक सोँच पलायो । तर, त्यत्तिबेलासम्म पानी लभगभ रहिसकेको थियो । अनि हामी भेटेकोमा खुसी व्यक्त गर्दै आफ्नो बाटो लाग्यौं ।
तर, करिब १ घण्टाको त्यो समय मेरो लागि भने ठूलो अग्निपरीक्षा थियो ।

मानौँ ठूलो जोखिममा छु भनेजसरी म अत्तालिएको थिए । तर, संसारमा सबै केटा मान्छेको दृष्किोण उहीँ त कहाँ हुन्छ र म डराएपनि पछि निस्किएपछि त्यस्तो अनुभूति भयो । डरैडरले भरिएको १ घण्टाको बसाईँ अनुभव साटासाट र परिचयमा बितेछ । पछि मैले किन शंका गरेको हुँला भनेर पनि लाग्यो अनि शंका गर्नुपर्छ भन्ने पनि लाग्यो ।

तर, त्यो एक घण्टाको बसाईँले अपरिचित केटा मान्छेसँग केटी मान्छे कति डराउँछन् कति असुरक्षित महशुस गर्ने रहेछन् भन्ने लाग्यो । यहीँ ठाउँमा ६ जना केटीमान्छे र एउटा केटा मान्छे भएको भए उसले कति ढुक्कका साथ बस्नसक्थ्यो भन्ने पनि लाग्यो ।
मेरो डर समाजको वास्तविक विम्ब हो किनभने महिलाहरु अपरिचित ठाउँमा जाँदा मात्रै होईन, कतिपय आफन्त र परिचितसँगै सुरक्षित महशुस गर्न सक्दैनन् । अनि अपरिचितलाई त झन् कसरी विश्वास गर्ने । मैले भोगेको र सोँचेको घटना नेपाली समाजको यर्थाथता हो भन्ने लाग्छ । अपरिचित वा कतिपय परिचित केटा मान्छे भेटिदाँ पूर्ण सुरक्षित छु भनेर विश्वास गर्ने दिन पनि आउँला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us