काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद सुरु भएको छ । पार्टीमा रहेको विवाद हालै केन्द्रीय समितिको बैठकबाट साम्य बनाइए पनि फेरि अर्को विवाद देखिएको हो ।
हालैसम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्रको विवाद समाधान गर्दै तीन सदस्यीय ‘हाइकमान्ड’ समिति गठन गर्ने निर्णय गरेपछि विवादको अर्को नयाँ रूप देखिएको छ । सोमबार काठमाडौंमा सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले तीन सदस्यीय हाइकमान्ड समिति गठन गर्ने निर्णय गरेको हो ।
सो समितिमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेका छन् । पार्टीको बैठक बस्न नसकेको अवस्थामा महत्वपूर्ण निर्णय यही समितिले गर्ने अधिकार छ ।
जसपा स्रोतका अनुसार ३४ सदस्यीय कार्यकारिणी समितिमा पूर्वराजपाका ११ जना, ५ सय ४ सदस्यीय केन्द्रीय समितिमा १ सय ३० भन्दा बढी सदस्य छन् । यस्तै १९ जना संघीय सांसद रहेकोमा सात जना पूर्व राजपाकै रहेका छन् । यति ठुलो जनमत आफूहरूको भए पनि केही नपाउने तर जनमत नै नभएकाले भागबन्डा पाउने हो भने नयाँ तरिकाले अगाडि बढ्नुपर्ने हुन सक्ने निष्कर्षमा पूर्वराजपा समूहका नेता पुगेका छन् ।
राजपाका पूर्वनेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरेपछि महेन्द्र र राजकिशोर यादवले जसपामै रहने निर्णय गरेका थिए ।
तत्कालीन राजपाका सिनियर नेता महेन्द्र्र्र्र्र भएकाले उनले पार्टीमा तत्कालीन राजपा समूहको नेतृत्व गर्ने जिम्मेवारी पनि पाएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि पूर्वराजपा समूहको बैठक बसेको थियो ।
‘जसपामा सम्मानजनक जिम्मेवारी र अवसर हामीले नि पाउनुपर्छ । तर, त्यसो हुन सकेको छैन । बाबुराम र अशोक राईले पार्टीमा केही पनि नहुँदा भागबन्डा पाएका छन् । तर, हामी यति ठूलो समूह भए पनि केही छैन । हाइकमान्ड गठन गर्दासमेत हाम्रो समूहबाट कोही परेनन्, अब यस्तै भइरहने हो भने विद्रोह हुन्छ,’ जसपाका कार्यकारिणी समितिका एक सदस्यले भने ।
तर, यो समितिमा पूर्वराष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का कोही पनि नेता नपरेपछि विवाद चर्किएको हो । विवादको नेतृत्व राजपाका तत्कालीन नेता महेन्द्रराय यादवले गर्ने भएका छन् । हाल उनी जसपाको कार्यकारिणी समिति सदस्य तथा संघीय सरकारमा कृषिमन्त्रीको जिम्मेवारीमा रहेका छन् ।