काठमाडौं। नेपाल प्रहरीको महानिरिक्षक (आईजीपी) नियुक्ती सम्बन्धी विवादको अन्तिम सुनुवाइले आइतबारदेखि निरन्तरता पाउँदै छ । जेठ ३० गते कामु प्रधानन्यायाधिश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरेपनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो ।
अतिरिक्त महानिरिक्षक (एआईजी)का लागि भएको सिफारिसविरुद्ध रिट हालेतका तीन नायब महानिरिक्षक (डीआईजी) र आईजीपी बढुवा सम्बन्धी विश्वराज पोखरेलले दर्ता गरेको रिटलाई लगाउमा राखेर एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ। एआईजी सिफारिसविद्ध रिट हालेका घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले अवकाश पाइसकेका छन् ।
आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजिपी बनाएको भन्दै रिट हालेका पोखरेलले पनि बढुवा नभए आगामी साउन २० देखि अवकाश पाउनेछन् । अन्तिम सुनुवाइका क्रममा एआईजी सिफारिस मुद्धामा दुवै पक्षबाट बहस भइसकेको छ भने आईजीपी सम्बन्धी विवादमा निवेदकतर्फ बाट एक जना कानुन व्यवसायीले बहस सकेका छन्। सोही स्थितिबाट आज सुनुवाई सुरु हुने छ।
कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।