सत्तागठबन्धनको बैठक बालुवाटारमा शुरु

काठमाडौं। सत्तागठबन्धन दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। अमेरिकाले अघि सारेको स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी) का विषयमा थप छलफल गर्न गठबन्धन दलका शीर्ष नेताको बैठक बालुवाटारमा बसेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता बालुवाटार पुग्नुभएको छ।

असार अन्तिममा हुने भनिएको प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलगायतका विषयमा छलफल गर्न भन्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज प्रधानमन्त्री देउवालाई बोलाएको थियो। उक्त कार्यक्रमा नगएर प्रधानमन्त्री देउवाले बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफलमा जुट्नु भएको हो।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुग्नुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल कार्यक्रम छोडर शीर्ष नेताको बैठकमा पुग्नुभएको हो। समितिको बैठकमा प्रधानमन्त्री देउवा उपस्थिति नहुने भएपछि त्यहाँ केहीबेर विवाद पनि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *