रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।
चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षीय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
त्यसैगरी गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते हुनुभएको छ । असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारीको बिरगंजमा उपचार भैरहेको डिएसपी भण्डारीले बताउनुभएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिनुभयो ।
ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्दे पक्राउ परेका छन् । मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानै देखि प्रदर्शन गरिरहेका छन ।
सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई बैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।