काठमाडाैं । झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका-७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तिमा पसेको थियो ।
बाढी पसेर सो स्थान बस्ने विष्णु लिम्बु, सुवास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ लगायत १३ जनाको घरमा क्षति पुगेको प्रहरीको भनाइ छ । उनीहरूलाई नेपाल प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरी सुरक्षित स्थान (आफन्तहरूको घर) तर्फ सारिएको थियो ।
मंगलबार बिहान रतुवा खोलामै आएको बाढीको कारण गौरादह न.पा वडा नं. ६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेको छ । डुबानमा परेको खबर प्राप्त हुना साथ प्रहरी टोली पुग्दा बस्तीमा २ फिट पानी पसेको र अन्य क्षति नभएको पाइएको थियो । सूचना अधिकारी वसन्त पाठकका अनुसार पानी घट्ने क्रममा रहेकोले सो स्थानका मानिस त्यहीँ नै बसेका थिए ।