प्रधानन्यायाधिश जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गर्नुभएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद पण्डितले सो महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारणबारे सभामुख अग्नीप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने माग गर्नुभएको हो।

उहाँले सो महाअभियोग प्रस्ताव छानवीनका लागि समितिमा रहेका सदस्यहरुको नामावली सभामुख सापकोटा आफैले घोषणा गरेको उल्लेख गर्दै उनीहरुलाई जिम्मेवारीविहीन अवस्थामा राख्न मिल्ने कि नमिल्ने ? भनि प्रश्न समेत गर्नुभयो।

सांसद पण्डितले आफ्नो पार्टी एमालेसँग छलफल नै नगरी ल्याइएको सो प्रस्ताव संसदबाट पास हुँदैन भन्ने डरले अघि नबढाएको हो कि भनि आशंका समेत व्यक्त गर्नुभयो । सो महाअभियोग प्रस्तावका सदस्य समेत रहनुभएको उहाँले भन्नुभयो, ‘यही संसदबाट महाअभियोग प्रस्ताव छलफल गर्नका निम्ति समिति बन्यो । सभामुख महोदयबाटै नाम घोषणा भएर महाअभियोग प्रस्ताव छानवीन गर्नको निम्ति जुन समिति बनेको थियो । अहिले काम पाएको छैन । कहिले काम पाउने हो ? र, त्यो महाअभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरीकन ल्याइएको र पास हुन सक्दैन भनेर महाअभियोग प्रस्तावका प्रस्तावकहरु नै हराई सक्नु भएको हो कि या उहाँहरु यो प्रस्तावमाथि छानवीन गर्नका निम्ति तयार हुनुहुन्न ?  म आफू त्यो समितिको सदस्य भएकाले गर्दा म जानकारी चाहन्छु । कहिलेसम्म जिम्मेवारी विहीन अवस्थामा बस्ने भन्ने कुरा म सभामुखज्यूबाट जवाफ चाहन्छु ।’

त्यस अवसरमा सांसद पण्डितले विराटनगर विमानस्थल विस्तारका लागि लिइएको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन पनि सरकारलाई दवाव दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us