काठमाडौं। सोमबार सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । ४९.३१ अंक घटेर परिसूचक १८८४ मा कायम भएको हो । यो अंक १९ महिना यताकै न्यून हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार १ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडको भयो ।
सबै सूचकहरु ओरालो लागेका छन् । बैंकिङ २१, विकास बैंक १३५, फाइनान्स ४८, होटल तथा पर्यटन ५२, जलविद्युत ९३, जीवन बीमा २३४, उत्पादन ९१, लघुवित्त ११०, निर्जीवन बीमा २३९, अन्य ४९ र ब्यापार उपसमूह २२ अंक घटे । दुई कम्पनी आँधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । ४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो । तेह्रथुम पावरको मूल्य १० प्रतिशत घट्यो । कालिका पावर, रिभर फल्स पावरको मूल्य ९ प्रतिशत घट्यो । प्रभु बैंक (संस्थापक), नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नबिल बैंक कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।