काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् ।
हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछि अब्दुल्लाह गृहनगर नै छन् । उनले टिम फर्कने समयमा अखिल नेपाल फुटबल संघ एन्फाको चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए । सोमवार भएको निर्वाचनमा एन्फाको आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए ।
तर, उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।