काठमाडौं। वायु सेवा सञ्चालक संघ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।
सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो। सरकारको निर्णयमा चित्त नबुझेका कारण अत्यावश्यक सेवा बन्द गर्ने घोषणा गरेको संघले जनाएको छ। सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।
‘बाध्यात्मक रूपमा यस संघसँग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९ असार ८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघले भनेको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्।
‘बिहान पहिलो उडान सबैले एकैपटक गर्दा ट्राफिक जाम, होल्डिङमा बस्नुपर्ने जस्ता समस्या भयो,’ सिटौलाले सेतोपाटीसँग भन्नुभयो, ‘उता बाहिरका विमानस्थलको क्षमता भने प्रयोगमा आउन सकेन।’ उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो।
प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।