उपत्यकामा थप तीन जनामा हैजा पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकामा थप तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएसँगै उपत्यकामा हैजाका बिरामीको सङ्ख्या पाँच पुगेको छ। हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ। यो ब्याक्टेरिया रहेको दूषित खानेकुरा खाँदा वा पानी पिउँदा गर्दा हैजा लाग्छ।

हैजा लाग्दा चौलानी पानी जस्तो दिसा आउने, लगातार बान्ता हुने, थकाइ लाग्ने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। यस्तो लक्षण देखिनासाथ वा कडा खालको हैजा देखिए तुरुन्तै अस्पताल जानुपर्ने डा. पुन बताउँछन्। बान्ता हुने, सामान्य लक्षण देखिए घरमै जीवनजल पानी खाइराख्ने, झोलिलो खानेकुरा खाने गर्नुपर्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको छ। त्यस्तै, अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा हैजा देखिएको छ। उनको थप कल्चर गर्न बाँकी रहेको जनाइएको छ।

बूढानीलकण्ठ नगरपालिकाको कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। उनका अनुसार, महाशाखाले अनुसन्धानका लागि टोली खटाइसकेको छ। टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खाना लगायतको गुणस्तरको मापन गरिरहेको छ। थप हैजा फैलन नदिन सचेत गराइरहेको छ।

यसअघि काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो। हाल उनीहरू आईसीयूमा रहेको र स्वास्थ्यमा सुधार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। अहिले के कारणले हैजा फैलिएको यकिन भन्न नसकिने डा. पुनको भनाइ छ। तथापि, रोगको प्रकोप झन् बढ्न सक्ने भएकाले सर्तकता अपनाउन जरुरी रहेको उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us