काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ ।
विहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो । बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्न ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
अनुगमनको लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव डा. विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई खटाएको छ ।
उहाँले चुनाव प्रचार र संगठन निर्माण सदस्यता एकसाथ अगाडि बढाएको समेत बताउनुभयो । महानगर र उपमहानगरको उम्मेदवार छान्न केन्द्र र अन्य उम्मेदवार छान्न प्रदेशलाई जिम्मेवारी दिईएको छ ।