काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताउनु भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो।
कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै उहाँले राष्ट्र, राष्ट्रियताको रक्षा र राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताउनु भयो। अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्न सके मात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने धारणा राख्नुभयो।
‘हाम्रो दिमागमा तीनवटा कुरा सदैव रहनुपर्छ। आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पणभाव, देशभक्तिको भावना। यसबाट हामी विचलित हुन सक्दैनौँ। कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ। विदेशीहरूको सामु लम्पसार पर्दैन। विदेशीहरूका सामु घुँडा टेक्दैन। विदेशीका इसारामा नाच्दैन। विदेशीहरूको स्वादमा चल्दैन,’ उहाँले भन्नुभयो।