काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको बताउनुभएको छ ।
पार्टीकाे केन्द्रीय कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्कालीन अवस्थामा लोकतन्त्र, संविधान र संघीयताको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज रहेको प्रमाणित भएको बताउनुभएको हो।
‘कम्युनिष्ट पार्टी भित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भयो, वैचारिक मन्थन, जनताका एजेण्डालाई बेवास्ता गरियो र एमालेमा आएको अहंकारी प्रवृत्तिले गर्दा देशमाथि नै कुठाराघात भयो त्यसैले हामीले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षाका लागि विद्रोह गर्यौ ।’ उहाँको भन्नुभयाे।
कम्युनिष्ट पार्टीले देशभक्ति, लोकतन्त्रको झण्डा उठाउँदै अधिनायकवाद र विदेशी शक्तिका सामू नझुकेकै कारण नेपालमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बनेको बताउदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाको सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
लोकतन्त्रको मूल्यमान्यता स्वीकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उहाँको कथन थियो ।
‘पाँचदलीय गठबन्धन गरेर हामी स्थनीय तहको निर्वाचनमा सहभागि भयौ । तर सबैतिर गठबन्धनमा हामीलाइ उचित स्थान दिइएन र हामी एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भयौ । यसले हामीलाई बलियो संगठन निर्माण गर्ने शिक्षा दिएको छ । अब हामी सबै तहमा पार्टी बिस्तारमा लाग्नु पर्छ ।’ उहाँले भन्नुभयाे ।
अध्यक्ष नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
अहिलेको मूल्यवृद्धिले जनताको ढाड सेकेको र भ्रष्टिकरण बढेकाे बताउँदै राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहात दिनुपर्ने अध्यक्ष नेपालले बताउनुभयाे ।
बबरमहलस्थित कार्की व्याक्वेटमा जारी बैठकमा अध्यक्ष नेपालले चौतीस पृष्ठकाे राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गर्नुभएको थियो ।