काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बताउनुभएको हो।
चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उहाँले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुने बताउनुभयो। उहाँले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिनुभयो।
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरु पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने धारणा राख्नुभयो । प्रतिगामी भूमिका खेल्नेहरु पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उहाँको भनाइ छ। राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडी सार्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आउने वैशाख ३० गतेको यो चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । जसले प्रगतिशील भूमिका खेलेको छ । त्यसको उच्च मूल्यांकन हुनुपर्दछ । जसले प्रतिगामी भूमिका खेलेको छ, त्यसले दण्डित हुनुपर्दछ।’
अध्यक्ष नेपालले मिडियाको जनचेतना जघाउने, देशभक्तिको भावना जघाउने र लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गर्नलाई अभिप्रेरित गर्ने जिम्मेवारी भएकाले सोही अनुसार लाग्न सञ्चारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।